केराबारी/ नेकपा (एमाले) ले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरुको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले यस्तो अनुरोध गरेको हो।

पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले (बिहिबार) आज प्रेस बिज्ञप्ति जारी गरी त्यस्ता एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार बिभागको सम्पर्कमा आउन अनुरोध गर्नुभएको हो।

नेकपा (एमाले) र यसको नेतृत्वका नाममा अनधिकृत रुपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपंतिभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र थाहा नभएका ब्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको र यसले पार्टीपंति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको भन्दै बिज्ञप्तिमा ‘सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको र त्यस्ता एकाउण्ट सञ्चालनकर्ताहरू सम्पर्कमा नआए आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने छ’ भनिएको छ।