केराबारी/ खोर्साने-केराबारी-भोगटेनी-सिंहदेवी (खोकेभोसि) सडकको काम ठेकेदारले अलपत्र पारेको भन्दै स्थानीयले बिरोध जनाएका छन्। ठेक्का लिएर लामो समयसम्म काम नगरेको भन्दै स्थानीयले बिरोध गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार बिभाग अन्तरगतको ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तरगतको खोकेभोसि सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्सनले कालोपत्रे गर्ने भनेपनि हालसम्म काम नगरेको स्थानीयको भनाई छ।

केराबारी गाउँपालिकाको वडा नम्बर २ र ३लाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने सो सडक लामो समयसम्म निर्माण नहुँदा स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आवत जावत गर्न समस्या भएको केराबारी २का वडाध्यक्ष प्रेम लिम्बुले बताउनुभयो।

नेपाल सरकारको २०प्रतिशत लगानी र एसियाली बिकास बैंकको ८० प्रतिशत लगानीमा निर्माण हुने सो सडकको केहि पनि काम हालसम्म नभएको वडाध्यक्ष लिम्बुको भनाई छ। बर्षा याममा सडक अवरुद्द हुँदा केराबारी २का सबै र वडा नम्बर ३का आधाजसो कष्टकर यात्रा गर्न बाध्य भएको वडाध्यक्ष लिम्बुको भनाई छ।khokevoshi

२०७६साल श्रावण २०गते सम्झौता भएर कार्य सम्पादन अवधिः ५ वर्ष (निर्माण अवधि २ वर्ष, त्रुटी सच्याउने अवधि १ वर्ष, कार्य सम्पादनमा आधारित मर्मत २ वर्ष)पाएको कम्पनिले हालसम्म ५प्रतिशत पनि काम नगरेको स्थानीयको दावी छ।

स्थानीयले काम तुरुन्त नथाले ठेकेदार कम्पनिलाई गाउँछिर्न नदिने देखि अन्य बिविध बिरोधका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन्।