इटहरी/ प्रेस चौतारी नेपाल खोटाङको छैटौँ जिल्ला अधिवेशनले राजन ठटालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जिल्ला उपाध्यक्षमा पवन राई चयन भएका छन्।
यसैगरी जिल्ला कमिटिको महिला उपाध्यक्षमा अस्मिता खत्री चयन हुँदा सचिवमा सन्तोष पौडेल, सहसचिवमा प्रतिरोध आचार्य र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन भएका छन्।
जिल्ला कमिटि सदस्यहरूमा क्रमशः टिवन राई, प्रमेश ढकाल, भुवन कटवाल, रामप्रसाद राई र प्रेम श्रेष्ठ चयन चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश समितिका सह–इन्चार्ज हरिवोल आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
अधिबेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले उद्घाटन गरेका थिए। कार्यक्रममा भट्टराईले जनताका अधिकार कटौती नहुने गरी संविधान संशोधन हुने बताएका छन्। साना दलहरूलाई नियन्त्रण गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा भट्टराईले जोड दिए। दुई चार सिट सांसद पाएका दलहरूले पनि प्रधानमन्त्री र मन्त्रीको लागि बार्गेनिङ गर्ने बिषयलाई रोक्न पनि संविधान संशोधन आवश्यक रहेको भट्टराईको भनाई छ।
पत्रकारले सत्य, तथ्य र निष्पक्ष भएर कमल चलाउनुपर्नेमा जोड दिँदै भट्टराईले ‘कसैको प्रभाव, दबाब र आश्वासनमा परेर पत्रकारिता गर्नुहुँदैन, यसले पत्रकारितामाथिको विश्वसनीयता घट्छ, समाजले सही सूचना पाउँदैन’, भने।