केराबारी/ केराबारी गाउँपालिकाले असोज २९गते कृषि मेला, प्रदर्शनी व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आर्थिक बिकास समिति संयोजकको संयोजकत्वमा बिश्व खाद्य दिवसको अवसरमा असोज २९ गते कृषि मेला, प्रदर्शनी व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकले चालु आर्थिक बर्ष २०८०।०८१ का लागि गाउँपालिका भित्रका बिभिन्न खोलाहरुमा रहेको नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्री व्यवस्थापन सम्बन्धी ठेक्का बन्दोबस्तका लागि सूचना प्रकाशन गर्ने पनि निर्णय गरेको छ।

यस्तै केराबारी गाउँपालिकाको कृषि बिकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ। यसैगरी आर्थिक बर्ष २०८० । ०८१ को लागि बिभिन्न बिद्यालयहरुलाई शिक्षक व्यवस्थापन अनुदान दिने निर्णय पनि गरेको छ।

यसैगरी चालु आर्थिक बर्षमा लघुउद्यम बिकास कार्यक्रम सञ्चालनको लागि वडा नम्बर ३ लाई छनौट गरेको छ। यस्तै चालु आर्थिक बर्षमा केराबारी गाउँपालिकाको योजनाहरु कार्यान्वयनको लागि बार्षिक खरिद योजना स्वीकृत गरेको छ।

यस्तै समुदायमा आधारित सालक संरक्षित बिशेष क्षेत्र व्यवस्थापन कार्यविधि, केराबारी गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको सञ्जाल गठन सम्बन्धि कार्यविधि, अनुगमन तथा सुपरिवेक्षण कार्यविधि, कन्टिजेन्सी खर्च सञ्चालन कार्यविधि, बिद्यालय लेखापरिक्षण सम्बन्धी कार्यविधि, बिभिन्न विषयगत समितिको बैठक सञ्चालन सम्बन्धि कार्यविधि, साप्ताहिक हाटबजार व्यवस्थापन कार्यविधि, कृषक समुह गठन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदा तयार गरी छलफलका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ।

kerabari suchana