केराबारी/ राष्ट्रिय दादुरा–रुबेला खोप अभियानलाई प्रभावकारी बनाउन सबैले आआफ्नो क्षेत्रबाट लागि पर्ने केराबारीमा शुक्रबार भएको गोष्ठीमा सहभागीहरुले प्रतिबद्दता जनाएका छन्। केराबारीमा ६१ वटा खोप केन्द्र तोकिएको र ति खोपकेन्द्रहरुमा सञ्चालन हुने खोप अभियानलाई सबैले सहयोग गर्ने प्रतिबद्दता जनाएका हुन्।

केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरले गाउँपालिकाले अवलम्बन गरेको पुर्ण खोप सञ्चालन र दादुरा–रुबेला मुक्त गाउँपालिका घोषणा  अभियानलाई सफल पार्न अभियानका सबै अंगहरु चलायमान हुनुपर्ने बताउनुभयो।

फागुन १३ गते देखि सञ्चालन हुने खोप अभियानमा केराबारी गाउँपालिकामा ९ महिना देखि १५बर्ष सम्मका झण्डै १० हजार बालबालिका रहेको र उनिहरु सबै सहभागी हुनुपर्ने र उनिहरुलाई दादुरा–रुबेला खोप लगाउन गाउँपालिकाले १०७ जना स्वास्थ्यकर्मीसहित १ सय ८४ स्वयंसेवक परिचालन गर्ने शुक्रबार भएको गोष्ठिमा केराबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाँईले बताउनुभयो।

चौलागाँईले दादुरा–रुवेलाको खोप लगाउने तयारी स्वरुप केराबारीका १०वटै वडामा ६१वटा खोप केन्द्र तोकिएको बताउनुभयो । दादुरा–रुबेला खोप लगाउदा आत्तिनु नपर्ने र डराउनुपर्ने अवस्था केहि नरहेको हुँदा ढुक्क भएर खोप लगाउन चौलागाँईले आग्रह गर्नुभएको छ।

केराबारीबाट यसपटक दादुरा–रुबेलाको उन्मूलन गर्ने गरी स्वास्थ्य शाखाले आवश्यक तयारी गरिरहेको भन्दै चौलागाँईले जनप्रतिनीधिहरु, स्वयंसेविका स्वास्थ्यकर्मीहरुलाई खोप अभियानलाई सफल पार्न सबैले सहयोग गर्न आग्रह गर्नुभयो।

केराबारी ८ स्थित हजारविघा सामुदायिक बन उपभोक्ता समुहको सभाहलमा भएको गोष्ठिमा जानकारी सरोकारवाला निकाय, जनप्रतिनीधिहरु,स्वयंसेविका स्वास्थ्यकर्मी सहितको टोलीलाई कार्यक्रम बारे जानकारी गराउनै खोप अभियानलाई सफल पार्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख चौलागाँईले बताउनुभयो । 

स्वास्थ्य शाखा प्रमुख चौलागाँईले खोप लगाउन कुनै बालबालिका नछुटुन भनेर बिद्यालयहरुमा पत्राचार पनि गरिएको र समुदाय स्तरका बालबालिकालाई टोल टोलमा पुगेर खोप लगाउने तयारी गरिएको बताउनुभयो।

कार्यक्रममा केराबारी ४का वडाध्यक्ष सुवास तामाङ्ग, गाउँपालिकाका प्रवक्ता नारायण भूजेल, स्थानीय पत्रकार किशन शाहीलगायतले अभियानलाई प्रभावकारी बनाउन सक्दो सहयोग हुने बताएका थिए।