सिंहदेवी/ केराबारीमा भएको वडा स्तरीय महिला फुटबलको उपाधि वडा नम्बर ३ले जितेको छ। वडा नम्बर ३ ले वडा नम्बर ६ लाई १–० ले पराजित गरेको हो।

केराबारी ८ स्थित खेल मैदानमा अस्ति सोमबार भएको फाइनल खेलमा वडा नम्बर ३ले वडा नम्बर ६लाई १–०ले पराजित गरेको केराबारी खेलकुद बिकास समितिका सदस्य सचिव राजन श्रेष्ठले केराबारी खबरलाई जानकारी दिनुभयो। 

सोमबार सम्पन्न फाइनल खेलमा बिजयी टिम वडा नम्बर ३की क्याप्टेन सञ्चुमाया तामाङले पहिलो हाफमा गोल गर्दै खेललाई १–०को अग्रता दिलाएकी थिईन। दोश्रो हाफमा दुवै टिमबाट गोल हुन नसकेपछि तामाङ्गले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो।

फाइनल खेलको म्यान अफ द म्याच पनि बिजयी टिम वडा नम्बर ३की क्याप्टेन तामाङ नै घोषित भईन। तामाङ्गलाई वडा नम्बर १०का वडाध्यक्ष पूर्ण मगरले  नगद ७ सय, ट्रफि र मेडल प्रदान गर्नुभयो।

बिजेता वडा नम्बर ३ र उपबिजेता बनेको वडा नम्बर ६लाई हिजो मंगलबार भएको समापन समारोहमा गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले क्रमश नगद ४५ र ३०हजार सहित, ट्रफि र प्रमाण पत्र प्रदान गर्नुभयो।