केराबारी/ मोरङ्ग प्रहरीले केराबारीका दुईजनासहित ६जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ। केराबारी १०का दुईजनासहित सुन्दरहरैँचाका दुईजना, कटहरीका एकजना अनि ग्रामथानका एकजना पक्राउ परेका हुन्। 

फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत जिल्ला अदालत मोरङको फैसलाबाट लागुऔषध गाँजाको कारोबारमा दोसी ठहर भएर ६महिना १२ दिन कैद सजाय तोकिएका केराबारी १० का गणेस तामाङ र अभद्र ब्यवहारमा दोषी ठहर भएर दुईहजार रुपैँया जरिवाना तोकिएका केराबारी १० का प्रिमान लिम्बुलाई नियन्त्रणमा लिएको हो।

यस्तै चोरी मुद्दामा ४ दिन कैद सजाय तोकिएका सुन्दरहरैँचा १० का समिर तामाङ्ग र नबिन सार्की, चोरी मुद्दामा नै १महिना कैद र ५सय रुपैँया जरिवाना तोकिएका कटहरी ३का मेहदीशेख मिया र चोरी मुद्दा र जबरजस्ति करणी उद्योगमा ११ महिना ४ दिन कैद र १०हजार रुपैँया जरिवाना तोकिएका ग्रामथान गाउँपालिका ५ का संजय चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलिले सोमबार नियन्त्रणमा लिएर जिल्ला अदालत मोरङमा पेश गरेको मोरङ्ग प्रहरीले जनाएको छ।

अदालतबाट भएका फैसलाहरुको प्रभावकारी कार्यान्वयन गरी दण्डहिनता अन्त्य गर्ने अभियान अन्तर्गत आर्थिक बर्ष २०८०/०८१ मा यहि मंसिर १० गते सम्म फरार रहेका १सय ७७ जना प्रतिवादीहरु पक्राउ गरेको र ११ गते थप थप ६जना समेत पक्राउ गरी जम्मा १सय ८३ जना फरार प्रतिवादीहरुलाई जिल्ला अदालत मोरङमा बुझाएको मोरङ्ग प्रहरीले जनाएको छ।