बगैँचा/ ठेकेदारले लामो समयसम्म अलपत्र पारेको खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसि) सडकमा ठाउँठाउँमा आवागमनमै समस्या भएपछि मर्मतको क्रम जारी छ। निरन्तरको बर्षाका कारण क्षतिग्रस्त बनेको खोकेभोसि सडकको गाउँपालिकाले मर्मत गरिरहेको हो।

केराबारी गाउँपालिकाको वडा नम्बर ३ र १०को अनुरोधमा गाउँपालिकाले केराबारी १० बगैंचा देखि रामपुरसम्म मर्मत थालेको केराबारी ३का वडा सदस्य डिल्लिराम योञ्जनले बताउनुभएको छ।

उहाँले सडक मर्मतका लागि गाउँपालिकाले सहयोग गरेकोमा पालिका नेतृत्वलाई धन्यवाद समेत दिनुभएको छ।

कान्छाराम कन्ट्रक्सनले ठेक्का लिएर लामो समयसम्म अलपत्र खोकेभोसि सडकको ठाउँ ठाउँमा बर्षाका कारण क्षति भएपछि आवागमनमै समस्या भएपछि केराबारी गाउँपालिकाको अगुवाईमा मिक्सगिट्टि हालेर मर्मत गरिँदै छ।khokevosi sadak

यसअघि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ आँफै सहभागी भएर खाल्डाखुल्डीमा मिक्सगिट्टिले पुरेर यातायात आवागमनमा सहज बनाउनुभएको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार बिभाग अन्तरगतको ग्रामिण सडक सञ्जाल सुधार आयोजना अन्तरगतको खोकेभोसि सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्सनले कालोपत्रे गर्ने भनेपनि हालसम्म काम नगर्दा स्थानीय आक्रोशित छन्। 

केराबारी गाउँपालिकाको वडा नम्बर २ र ३ लाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने सो सडक लामो समयसम्म निर्माण नहुँदा स्थानीयलाई गाउँपालिकाको केन्द्रसम्म आवत जावत गर्न निकै नै कठिनाई हुने गरेको छ।

नेपाल सरकारको २०प्रतिशत लगानी र एसियाली बिकास बैंकको ८० प्रतिशत लगानीमा निर्माण हुने सो सडकको केहि पनि काम हालसम्म नभएको केराबारी २का वडाध्यक्ष प्रेम लिम्बुले केहि समय अघिको केराबारी खबरसँगको कुराकानीमा बताएका थिए।

२०७६साल श्रावण २०गते सम्झौता भएर कार्य सम्पादन अवधिः ५ वर्ष (निर्माण अवधि २ वर्ष, त्रुटी सच्याउने अवधि १ वर्ष, कार्य सम्पादनमा आधारित मर्मत २ वर्ष)पाएको कम्पनिले हालसम्म ५प्रतिशत पनि काम नगरेको स्थानीयको भनाई छ।