केराबारी/  मोरङ्गको केराबारी गाउँपालिकाले मंगलबार पनि बजार अनुगमन गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको नेतृत्वमा मंगलबार पनि बजार अनुगमन गरिएको हो।

उपभोक्ता हित संरक्षणका लागि गरिएको बजार अनुगमनका क्रममा मंगलबार पनि ब्यापारीहरुले पान नम्बर, दर्ता प्रमाण पत्रहरु देखिने गरि नझुण्ड्याएको, मुल्यसुचि नराखेको, अति प्रज्वलनशिल पदार्थ पेट्रोल खुल्लमखुल्ला मिनरल वाटरको वोतलमा भरेर भरेर बेच्न राखेको भेटिएको थियो।

अनुगमन समितिले ब्यापारीहरुलाई दर्ता प्रमाण पत्र, पान/ भ्याट दर्ता प्रमाण पत्र झुण्ड्याउन लगाउन लगाएको छ। यस्तै मिनरल वाटरको बोतलमा पेट्रोल बिक्री नगर्न सचेत समेत गराएको छ।

अनुगमनका क्रममा मंगलबार केराबारी ७ स्थित दाहाल चोकमा सञ्चालित घिसिङ किराना पसलमा म्याद गुज्रिएका मसला, ससलगायतका बिभिन्न खाद्य सामाग्री फेला पारेर वरामद गरेको छ।

यस्तै दाहाल चोकमा नै सञ्चालित हार्डवेयरमा म्याद नाघेका रङ्गका बिभिन्न दरका बट्टा फेला पारेर वरामद गरेको छ। मंगलबार पनि बिक्रेताहरुलाई सुझाव दिँदै आगामी दिनमा सुझाव कार्यान्वयन नगरे पसल शिल सम्म गर्ने अनुगमनमा सहभागीहरुले जानकारी गराएका छन्।

मंगलबार केराबारी ७स्थित दाहाल चोक, लांघाली चोक, केराबारी ६स्थित अमृत चोकमा अनुगमन गरिएको छ। अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय मोरङ्गका अधिकृत शंकर कार्की, केराबारी गाउँपालिकाका कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोला, राजस्व शाखाकी भारती धिताल, सञ्चारकर्मीहरुलगायत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी सहभागी थिए।