धरान/ सव डिभिजन वन कार्यालय बिष्णुपादुका धरानको आयोजनामा सरोकारवाला निकायहरूसँग सव डिभिजन स्तरीय समन्वय बैठक धरानस्थित लांघाली सामुदायिक वन धरान ८ को सभाहलमा सम्पन्न भएको छ। 

कार्यक्रममा प्रचलित वनसम्बन्धी कानुन, वन ऐन, वन नियमावली, वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण निर्देशिका, वन व्यवस्थापनमा वन कार्यालय, स्थानीय तह/वडा कार्यालय, उपभोक्ता समूहबीचको सम्बन्ध, सरोकारवाला निकायबीचमा हुनेपर्ने समन्वय, सहकार्यको विषयमा सब डिभिजन प्रमुख विक्रम अमात्यले प्रष्ट पार्नुभएको थियो।

वन क्षेत्रमा हुन सक्ने वन अतिक्रमण, अवैध चोरी तस्करी, वन्यजन्तुको सिकार तथा आखेटोपहारको अवैध व्यापारको नियन्त्रण, वन क्षेत्रबाट नदी जन्य वन पैदावार (ढुंगा, गिट्टी, बालुवा लगायत) संकलन तथा उत्खनन नियन्त्रण लगायतका वनजन्य कसुर तथा सो को सजायका सम्बन्धमा प्रकाश पारिएको थियो ।

मानव वन्यजन्तु न्यूनीकरण, वृक्षारोपण तथा जडिबुटी खेती विस्तार, सामुदायिक तथा धार्मिक वनको व्यवस्थापन, निजी वन दर्ता तथा निजी नम्बरी आवादीको वन पैदावारको संकलन तथा बिक्री वितरण सम्बन्धमा सब डिभिजन प्रमुख विक्रम अमात्यले बताउनुभएको थियो।

कार्यक्रममा सब डिभिजन वन कार्यालय, बिष्णुपादुका, धरानको कार्यक्षेत्र भित्रका ११ वटा वडा कार्यालय, ईलाका प्रहरी कार्यालय, धरान र मातहतका प्रहरी चौकी, सशस्त्र प्रहरी बल, बेस क्याम्प धरान, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुनसरी, नेपाल पत्रकार महासंघ सुनसरी शाखा, सामुदायिक वन उपभोक्ता महासंघ, नगर महासंघ, धरान, विभिन्न सामुदायिक वन उपभोक्ता समूह तथा धार्मिक वन उपभोक्ता समूहको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमहरू आगामी दिनमा समेत सञ्चालन हुनुपर्न आवश्यकताको महसुस गर्नेभएको थियो । कार्यक्रहममा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले, हिमाली सामुदायिक वनका अध्यक्ष परशुराम वाईवालगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन फरेष्टर फुल कुमारी भोटेले गर्नुभएको थियो ।

सब डिभिजनस्तरीय सञ्जाल गठन

यसैबीच समन्वय बैठकबाटवडा कार्यालयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बल, बेस क्याम्प, धरानका प्रतिनिधि, सामुदायिक वन तथा धार्मिक वनका प्रतिनिधिसमेत रहने गरी हिमाली सामुदायिक वन उपभोक्ता समूह, धरान ८ का अध्यक्ष परशुराम वाईवाको संयोजकत्व तथा सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र बहादुर दाहालको सह संयोजकत्वमा २५ सदस्यीय सब डिभिजनस्तरीय वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने बैठकले निर्णय गरेको छ। 

त्यस्तै कार्कीछाप कालीखोला सामुदायिक वनका अध्यक्ष सम्फर तामाङको संयोजकत्व तथा नमुना सामुदायिक वनका सचिव समुन्द्र राईको सह संयोकत्वमा २५ सदस्यीय सब डिभिजन स्तरीय वन अतिक्रमण नियन्त्रण सञ्जालसमेत गठन गरिएको छ ।

सञ्जालको सदस्य सचिवका रूपमा सब डिभिजन वन कार्यालय, बिष्णुपादुका, धरानका रेञ्जर÷फरेष्टर रहने व्यवस्था गरिएको तथा सञ्जाललाई आगामी दिनमा थप संस्थागत गरी अघि बढाउने सोच रहेको अमात्यले बताउनुभयो।