केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाले शुक्रबार पनि बजार अनुगमन गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको नेतृत्वमा केराबारी ९मा बजार अनुगमन गरिएको हो।

उपभोक्ता हित संरक्षणका लागि गरिएको बजार अनुगमनका क्रममा केराबारी ९ भलुवामा फार्मेसीहरु दर्ता नगरी सञ्चालन गरिएको, केहि लघु उद्योगहरु पनि दर्ता बिना सञ्चालन गरिएको पाईएको थियो।

अनुगमनका क्रममा किराना पसलका ब्यापारीहरुले पान नम्बर, दर्ता प्रमाण पत्रहरु देखिने गरि नझुण्ड्याएको, मुल्यसुचि नराखेको पाईएको थियो। अनुगमन समितिले ब्यापारीहरुलाई दर्ता प्रमाण पत्र, पान÷भ्याट दर्ता प्रमाण पत्र झुण्ड्याउन लगाएको छ।

भलुवा चोकमा पनि अनुगमनका क्रममा अति प्रज्वलनशिल पदार्थ पेट्रोल खुल्लमखुल्ला मिनरल वाटरको वोतलमा भरेर बेच्न राखेको भेटिएको र ति पसल सञ्चालनक हरुलाई अनुगमन समितिले आईन्दा त्यसरी बिक्री नगर्न सचेत समेत गराएको छ।

अनुगमनका क्रममा केराबारी ९ भलुवा चोकमा सञ्चालित केहि किराना पसलमा म्याद गुज्रिएका बिभिन्न खाद्यपदार्थ फेला पारेर अनुगमन समितिले मुचुल्का उठाएर बरामद गरेको छ।

यस्तै केराबारी ९कै घंघरु चोकमा सञ्चालित एक पसलमा पनि केहि म्याद गुज्रिएका खाद्यपदार्थ फेला पारेर अनुगमन समितिले मुचुल्का उठाएर बरामद गरेको छ।

अनुगमनका क्रममा कमिकमजोरी भेटिएका पसलहरुमा बिभिन्न सुझाव दिईएको र सुझाव कार्यान्वयन नगरे आगामी दिनमा गाउँपालिका कडा रुपमा प्रस्तुत हुँदै पसल शिल सम्म गर्ने भन्दै अनुगमन समितिले जानकारी गराएका छन्।

अनुगमनमा केराबारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चौलागाँई, कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोला, सुचना अधिकृत सुवास सुवेदी, योजना शाखाका चन्द्र बस्नेतलगायत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी सहभागी थिए।